नियम २०
विकास कार्यक्रम तथा वजेट र उत्पादन अनुमति
: (१) सम्भाव्यता कार्यबाट स्थललाई व्यापारिक रूपमा विकास गर्न सकिने देखिएमा ठेकेदारले मनासिब अवधिभित्र उत्पादन अनुमतिको लागि विभागमा निवेदन दिनु पर्नेछ । त्यस्तो निवेदनमा स्थलको व्यापारिक विकास गर्नको निमित्त विस्तृत विकास कार्यक्रम र बजेट तथा माग गरिएको उत्पादन क्षेत्रको विस्तृत विवरण समावेश हुनु पर्नेछ ।
(२) ठेकेदारले विभागको स्वीकृति प्राप्त नभएसम्म विकास कार्य गर्नु हुँदैन । विभागले विकास कार्यक्रम र वजेट स्वीकृति गरिसकेपछि उत्पादन अनुमति प्रदान गर्नेछ ।
(३) उत्पादन अनुमति अन्तर्गतको स्थलको फैलावट जुन स्थलको लागि उत्पादन अनुमति प्रदान गरिएको थियो सो भन्दा फरक भएको पाइएमा अनुमति अन्तर्गतको उत्पादन क्षेत्र त्यसै अनुसार मिलाइनेछ । तर त्यस्तो क्षेत्र परित्याग गरी नसकेको करार क्षेत्रभित्र परेको हुनु पर्नेछ ।
(४) ठेकेदारले कच्चा तेलसँग संलग्न रहेको वा नरहेको प्राकृतिक ग्याँस पत्ता लगाएमा त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक प्रयोगको विकास गर्ने प्रयोजनको लागि विभाग र ठेकेदारले तुरुन्त आपसमा छलफल गर्नेछन् । त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक प्रयोगको विकास भैसकेको रहेनछ भने पेट्रोलियम सम्झौतामा तोकिएबमोजिम व्यापारिक बजारको
विकास गर्न आफूलाई समर्थ बनाउन ठेकेदारलाई उत्पादन अनुमतिको लागि निवेदन दिने अधिकार हुनेछ । त्यस्तो प्राकृतिक ग्याँसको व्यापारिक बजार विकास गर्नलाई ठेकेदारलाई सहयोग गर्न विभाग तथा ठेकेदार दुवैको प्रतिनिधि भएको एउटा समिति स्थापना गरिनेछ । उक्त समितिले फेला पारेको ग्याँसको संयुक्त रूपमा मूल्याङ्कनको पुनरावलोकन, व्यापारिक विकास योजनाको कार्यविधि निर्धारण तथा स्वीकृत कार्यक्रमहरूको कार्यान्वयनको प्रगतिको
अनुगमन गर्नेछ ।